‘पानीफोटो’ छायाँकन सुरु



अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ । राजधानीको बंगलामुखी मन्दिरमा फिल्म युनिटले पुजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरेको हो । बंगलामुखी मन्दिरमा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान लगायत फिल्मका कास्ट एण्ड क्रु उपस्थित थिए । आफ्नै लेखन रहेको नाटकलाई उनले फिल्मको स्वरुप दिन लागेका हुन् । उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउनेछन् ।

यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । फिल्मको एक दिनको छायाँकन काठमाडौंमा हुनेछ भने त्यसपछि टोलि स्याङ्गजा तर्फ लाग्नेछ । ‘यो मेरो सपनानै थियो कि यसलाई फिल्म बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ खगेन्द्रले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।’ टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् । फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ । पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal