रवि लामिछाने धरौटीमा रिहा



टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

पक्राउ परेका लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो । उनीहरुले धरौटी बुझाएपछि थुना मुक्त गरिनेछ । उनीहरु विरुद्ध लागेको आरोपको भने अन्तिम फैसला भएको छैन । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार उनीहरुमाथि लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । उनीहरुलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ३० साउनमा पक्राउ गरिएको थियो ।

अब रविले यस घटनाक्रमसंग सम्बन्धित रहेर कार्यक्रम ‘सिधा कुरा जनतासंग’मा कुनै पनि सामाग्री प्रसारण गर्न पाउने छैनन् । साथै अदालतको अनुमति बेगर रवि विदेश समेत जान पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal