‘च च हुई’ गीत छायाँकनका तस्विर बाहिरिए



मङ्सिर ६ गते देखि प्रदर्शन हुने फिल्म ‘च च हुई’को केही तस्विर सार्वजनिक भएको छ । जसमा फिल्मका मुख्य कलाकार नायक आर्यन सिग्देल, नायिका मिरुना मगर र कलाकार भोलाराज सापकोटा देखिएका छन् । फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन् । सार्वजानिक तस्विरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्विरमा आर्यन र मिरुनाको गज्जबको केमेष्ट्री देखिएको छ ।

झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यस गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।

फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal