कार्तिकमा सुशीलको ‘बादशाह जुट’



फिल्म ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । गत सालको पुष १३ गते रिलिज हुने भनिएको एक्सन जनराको फिल्म अब कार्तिक १ गते देखी सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।

‘प्राविधिक काम सबै सकिएको छ । रिलिजको लागि तयार छौँ । कार्तिक १ को डेटमा आउन हामीलाई कुनै बाधा-अड्चनले रोक्दैन ।’ निर्देशक जोनी सिंह राणाले फिल्मको सबै प्राविधिक काम सकिएको र अब फिल्म प्रदर्शनका लागि कुनै बाधा नरहेको बताए ।

तासको खेलमा ‘बादशाह जुट’ भन्न वितिकै डबल बादशाह भन्ने बुझिन्छ । डबल हुँदा बादशाहको शक्ति बढ्छ । सार्वजनिक पोस्टरमा शुशिल श्रेष्ठ र रोबिन तामाङ फिचर्ड छन् । फिल्मको बादशाह यी दुई नै हुने अनुमान गर्न सकिन्छ । फिल्ममा आमिर गौतमको पनि मुख्य भूमिका रहेको छ । तर, पोस्टरमा उनलाई लुकाइएको छ ।

निर्देशक राणाकै कथा रहेको फिल्ममा रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको पनि अभिनय छ । प्रियंका कार्की फिचर्ड गीत निर्माण पक्षले गत साल नै रिलिज गरिसकेको छ ।

अभिषेक शशि कुमारको लेखन रहेको फिल्ममा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेती र राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको फिल्म हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal