अनमोलका कारण रोकियो झरनाको ‘भागवत गीता’, ‘ए मेरो हजुर ४’ बन्ने



पछिल्लो समय नेपालका नम्बर १ नायकको छवी बनाएका अनमोल केसीको आठौँ फिल्मको रुपमा ‘एन्टी हिरो’ बन्ने पक्का भएको छ । यसअघी झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’मा अनमोलले अभिनय गर्ने चर्चा थियो । उनले सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने उक्त फिल्म पश्चात आफ्नो होम प्रोडक्सन सुपर काजोल फिल्म्सको ब्यानरमा बन्ने नयाँ फिल्ममा अभिनय गर्ने चर्चाका बिच ‘एन्टी हिरो’ फिल्म बन्ने भएपछी झरना थापा तत्कालका लागी भागवत गीता बनाउने सोचबाट पछी हटेकी छिन् ।

ए मेरो हजुर ३ व्यवसायिक रुपमा सफल भएपछी झरना झरनाले ए मेरो हजुर सिरिजलाई ब्रेक लगाएर भागवत गीतामा अनमोल र सुहानाको जोडीलाई दोहोर्याउन खोजेकी थिइन् । उनले बेलाबखत सामाजिक संजालमा अनमोल र सुहानाको फोटो सेयर गर्दै भागवत गीता निर्देशन गर्न लागेको घुमाउरो घोषणा गर्दै आएकी थिइन् ।

भागवत गीताका लागी अनमोल पनि सकारात्मक रहेको अवस्थामा एक्कासी ‘एन्टी हिरो’ फिल्म बन्ने पक्का भयो । बुझिए अनुसार फिल्म घोषणा भएता पनि पहिले भागवत गीताको सुटिङ सकेर एन्टी हिरोको सुटिङ गर्नेमा अनमोल सकारात्मक थिए । तर, अनमोलले सामाजिक संजालमा आफ्नो आठौँ फिल्म ‘एन्टी हिरो’ भनेर पोस्ट गरेपछी झरना थापाले तत्काल भागवत गीता नबनाउने भएकी हुन् ।

निर्माता सुनिल कुमार थापाका अनुसार अब फिल्म ‘ए मेरो हजुर ४’ बन्ने छ । उक्त फिल्मका लागी नायिकामा सुहाना थापा नै रहनेछिन् भने नायक नयाँ राख्ने वा चल्ती कै भन्ने विषयमा टुङ्गो लागेको छैन । उनले दिएको जानकारी अनुसार ए मेरो हजुर ४ आगामी दशैँमा प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal