‘लप्पन छप्पन २’को सुटिङमै लप्पन छप्पन, नेपाल फर्किए कलाकार



फिल्मको नाम जस्तै फिल्म ‘लप्पन छप्पन २’ को छायाँकनमा समेत लप्पन छप्पन भएपछी यूरोप पुगेका कलााकरहरु छायाँकन बीना नै नेपाल फर्केका छन् । निर्माण टिमको समन्वय नमिल्दा दुई हप्ता जस्तो समय घुमघाम मै बिताएर कलाकारहरु शनिबार नेपाल फर्केका हुन् ।

अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही लगायतका कलाकार सहितको १७ जनाको टिम फिल्म छायाँकनको लागी यूरोप पुगेको थियो । तर, निर्माण टिमले छायाँकनको अनुमति सम्म नलिएको र छायाँकनको लागी क्यामेराको समेत व्यवस्था नभएपछि कलाकारहरुले घुमेरै समय बिताए । उता छायाँकार पुरुषोत्तम प्रधान समेत यूरोप नउड्दा बैकल्पिक छायाँकार समेत सेटमा नभएको जानकारी प्राप्त भएको छ ।

निर्देशक मुकुन्द भट्टले युरोप छायाँकनको चाँजोपाँजो मिलाएका निर्माताहरुसँग खबर नै नगरी कलाकार लिएर बेल्जियम पुगेको रहस्य पनि खुलेको छ । कलाकार र प्राविधिक सहितको जम्बो टिम पुगेपछि छायाँकार र क्यामेरा समेत व्यवस्था नहुँदा निर्माता निर्देशकबीच मनमुटाब बढेको श्रोतको भनाई छ । अन्ततः स्थानिय निर्माताले भने अब अष्ट्रेलिया छायाँकन गरेर मात्रै यूरोपमा फिल्म खिच्नमा सहमति जनाएका छन् ।

यूरोप पुग्नु पहिले निर्देशक भट्टले केही प्रतिशत छायाँकन नेपालमा गरेका थिए । अब फिल्मको बाँकी सुटिङ सेड्युल अक्टोबरलाई सरेको बताइएको छ । कलाकारहरुको समय मिलाएर युरोप र अष्ट्रेलियामा फिल्मको छायाँकन पुनः सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal