ह्योल्मो संस्कृतिमा आधारित फिल्म ‘मेतोक’को ट्रेलर सार्वजनिक



ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको मेतोक फिल्मको ट्रेलर हेर्दा अहिले बन्ने गरेका नेपाली भाषाको जतिकै तामझाम देख्न सकिन्छ ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको ‘मेतोक’ फिल्मको सम्पूर्ण छायांकन सकिएको छ भने अहिले धमाधम सम्पादनको काम भइरहेको जानकारी निर्देशक लामाले दिएका छन् ।

‘ह्योल्मो समुदाय सानो छ, त्यसमा पनि ह्योल्मो भाषा बोल्ने र बुज्नेको संख्या त झन् नै सानो छ, त्यसैले पनि हाम्रो भाषा र संस्कृति आउने पुस्ता सम्म रहनु पर्छ र लोप हुनु हुदैन । हामीले बनाएको फिल्मले केही हदसम्म हाम्रो भाषा र सांस्कृतिको जगेर्ना हुने हामीलाई लागेको छ र हामीले निर्माण गरेको यो फिल्मलाई ह्योल्मो समुदायले मात्र नभएर सम्पूर्ण नेपालीहरुले नै माया गर्नु हुनेछ भन्ने लाग्छ । किनभने सम्पूर्ण भाषा हाम्रा देशका सम्पति हुन् र यिनको जगेर्ना गर्नु हामी सम्पूर्ण नेपालीहरुको कर्तव्य हो । हामीले यो फिल्म बनाएर मनग्गे धन आर्जन गर्ने भन्दा पनि भाषा र सांस्कृतीको जगेर्ना गर्नु मुख्य उधेश्य रहेकाले सबैको साथ पाउछौ भन्नेमा बिस्वस्त छौ’, फिल्मकी निर्मात्री सर्किनी ज्याबा ह्योल्मोले भनिन् । फिल्म निर्माणको क्रममा कहिकतै पनि खर्च गर्न कन्जुस्याइँ नगरी फिल्मलाई राम्रो बनाउनलाई कुनै सम्झौता नगरेको उनको भनाई थियो ।

निर्देशक लामाको कथा र आगत के.सी.को पठकथा तथा संवाद रहेको फिल्मको ट्रेलर हेर्दा फिल्म ह्योल्मो संस्कृतिमा आधारित एक प्रेम कथामा बनेको अनुमान गर्न सकिन्छ । ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा , कान्छीमाया ह्योल्मो, पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको फिल्मको ह्योल्मो भाषा अनुवाद डल्ले ह्योल्मोले गरेका हुन् ।

हालसम्म ६० लाखको हाराहारीमा लगानी भैसकेको फिल्म प्रदर्शनसम्म पुग्दा ७० लाखको हाराहारीमा तयार हुने अनुमान गरिएको बताउछन निर्देशक लामा । फिल्ममा दावा डी. ह्योल्मोको संगीत तथा चर्चित गायक राजु लामा, तेन्जिङ ह्योल्मो र दावा डी. ह्योल्मोले स्वर रहेको छ । फिल्मलाई सन्देश शाहको सम्पादन रहेको छ ।

राम कुमार के.सीको छायांकन रहेको ‘मेतोक’मा सिन्धुपाल्चोकको हेलम्बु, मुस्ताङ तथा काठमाण्डौमा खिचिएको हो । नेपाल तथा विदेशका विभिन्न स्थानमा बिशेष प्रदर्शन गरिने र प्रदर्शन मिति चाडैनै टुंगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ । फिल्म ह्योल्मो भाषामा प्रदर्शन भए लगातै नेपाली भाषामा अनुवाद गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal