लागूऔषध कारोबारमा संलग्न मेजर पक्राउ



करिब दुई महिना लामो निगरानीपछि प्रहरीले इटहरी क्षेत्रमा लागूऔषध बेचबिखनमा संलग्न मुख्य कारोबारी पक्राउ गरेका छन् । प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) बेचबिखनमा संलग्न नेपाली सेनाका सेनानी (मेजर) अजितकुमार सिंह तथा प्रमोद चौधरीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले मेजर सिंह र सर्वसाधारण चौधरीलाई पृतनाको गेट नजिकबाट पक्राउ गरेको हो । दुवै बिरुद्ध लागूऔषध ओसारपसार तथा बेचबिखन मुद्दामा म्याद थप हुने डिएसपी समिरचन्द्र खरेलले बताए । साढे २ महिना अघि खैरो हेरोइन बेचबिखनमा सेनाका मेजर संलग्न रहेको सूचना प्राप्त गरेकाे थियो । मेजर सिंहले आफ्नो पदको दुरुपयोग गर्दै भारतमा पुगेर खैरो हेरोइन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

‘आफैँ भारत गएर ल्याउने, यहाँ सानो सानो परिमाणमा बेच्ने गरेका रहेछन,’ डिएसपी खरेलले भने ‘यस क्षेत्रका प्रयोगकर्तालाई पृतनाको गेट नजिक बोलाएर बेच्ने गरेका थिए ।’

प्रहरीका अनुसार कैलालीका सिंह आफू समेत खैरो हेरोइनका नियमित प्रयोगकर्ता हुन् । प्रहरीले दुवैलाई हिरासतमा राखेर कारबाही गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal