‘दयारानी’ प्रदर्शन मिती सात महिना पछी सर्यो



अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म दयारानी प्रदर्शन मिती सात महिना पछाडी सरेको छ । सुरुमा बर्ष ०७६को जेठ १० गते प्रदर्शनमा आउने भनिएको फिल्म प्रदर्शन मिती पछी सार्दै साउन ३० पुर्याएको फिल्म निर्माण यूनिटले पुन: फिल्मको प्रदर्शन मिती पछी सार्दै फागुन ९ गते पुर्याएको हो । अब ‘दयारानी’ दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ संग जुध्ने छ ।

फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङले फिल्म प्रदर्शन मिती पछी सर्नुको कारण बारे कुरा गर्दै इन्ट्रो नेपालसंग भने ‘हामी न्यू कमर भइयो त्यसमाथी नाम चलेको ब्यानर पनि भइएन । जेठको प्रदर्शन सारेर साउन पुर्याइयो । त्यसमा ठुला ब्यानरका फिल्म र केही हिन्दी फिल्मको चेपुवामा पर्ने डर मुख्य कारण थियो । साउनमा पनि फिल्म प्रदर्शन हुने सम्भावना कम देखेपछी दशैँलाई सोचेको थिएँ । तर, दशैँमा झनै ठुला ब्यानरका ठुला फिल्म चल्ने देखेपछी फागुन पुर्याएको हुँ ।’ ‘दशैँ पछी केही आफैँले अभिनय गरेका फिल्म त केही आफ्नै साथिभाईका फिल्म प्रदर्शन हुँदैछन् त्यसैले पनि फागुन ९को विकल्प देखिन । फिल्म निर्माण गरेपछी प्रदर्शन गर्नै पर्छ त्यसैले अब फागुन ९ मा जस्तो सुकै अवस्थामा पनि फिल्म प्रदर्शन हुन्छ’, गुरुङले भने ।

दयारानीमा एउटा खराब श्रीमान् र उसकी दयालु श्रीमतीको कथा समेटिएको छ । फिल्ममा बिजय बराल, पुष्कर गुरुङ, डिबी गुरुङ, प्रमिश गुरुङ, शिरिसा कुवर, नयन गुरुङ, टिका राम घले, कृष्टि गुरुङ लगायतको समेत अभिनय रहेको छ । शैलेन्द्र डि. कार्कीको छायांकन, राजन राज सिवाकोटी र बिनोद बानियाको संगीत, बिक्रम स्वारको कोरियोग्राफी रहेको फिल्ममा राजेन पुवेर र नेमिष श्रेष्ठको सम्पादन रहेको छ ।

राम बाबु गुरुङ र अपिल त्रिपाठी कार्यकारी निर्माता रहेको फिल्मलाई हङकङमा रहेका ब्यवसायी मोहन (टिला) गुरुङसंगै किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्तरुपमा निर्माण गरेका हुन् । यसअघि फिल्मको हङकङमा प्रिमियर सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal