संगीतकार आलोक श्रीलाई चेतन सापकोटाले लगाए संगीत कपी गरेको आरोप



संगीतकार तथा गायक चेतन सापकोटाले संगीतकार आलोक श्री माथी आफ्नो संगीत कपी गरेको आरोप लागाएका छन् । उनले आफ्नो संगीत रहेको गीत ‘मागेर पाउने भए म’ गीतको संगीत आलोक श्रीले ‘तिम्रो आगमनले जीवनमा’ भन्ने गीतमा प्रयोग गरेको आरोप उनले लगाएका हुन् । त्यस्तै उनले आफ्नो संगीत रहेको गीत ‘चियाको बोटैमा’ को संगीत समेत अर्को एक संगीतकारले कपी आरोप लगाए । उनले अब प्रकृयागत रुपमा संगीतकार संघ नेपालमा अपिल गरी दोषी माथी कारवाहीको प्रकृया अगाडी बढाउने बताए ।

२०६५ सालमा आफुले रेकर्ड गरेको गीत ‘बुद्ध पठाइदेउ’ बिना अनुमति सर्लाहीका ४८ वर्षीय अर्जुन दाहालले केही समय पहिले रेकर्ड गराएर आर्थिक उपार्जन गर्ने नियतले किशोर श्रेष्ठले संचालन गर्दै आएको युवामन नामक युट्युब च्यानलमा राखेको भन्दै संगीतकार संघमा न्यायका लागि अपिल गरेका थिए । सोही विषयको बारेमा जानकारी गराउने उदेश्य सहित संगीतकार संघ नेपालको कार्यालयका पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सोही पत्रकार सम्मेलनमा आफ्ना अन्य ४-५ वटा गीत समेत कपी भएको थाहा हुन आएको बताएका हुन् ।

चेतनले ‘बुद्ध पठाइदेउ’ बोलको गीतको केही शब्द र संगीत बिना अनुमती आफ्नो भन्दै प्रचार गरेको आरोपमा संगीतकार संघ नेपालको पहलमा सम्बन्धित ब्यक्तीलाई काठमाडौँ झिकाई अब आइन्दा त्यस्तो नगर्ने शर्तमा माफी मगाई सहमती गरिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिए ।

व्यक्तिगत रुपमा कुनै किसिमको लेनदेन नभएता पनि युवामन युट्युब च्यानलका किशोर श्रेष्ठ र उक्त गीत गाएका अर्जुन दाहालले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा २०,००० रुपैयाँ जम्मा गरिदिएका छन् । अब आइन्दा उक्त गीत कुनै पनि सामाग्रीमा प्रयोग नगर्ने, पहिले उक्त गीत प्रयोग भएका सामाग्री युट्युबबाट हटाउने लगायतका शर्त सहित सहमती गरेका चेतन सापकोटाले आफ्नो संगीतमा दुई महिना भित्र अर्जुन दाहाललाई गीत गाउने अवसर दिने घोषणा समेत गरे ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै संगीतकार सापकोटाले ‘बुद्ध पठाइदेउ’ गीतको सवालमा आफ्नो गीत नियतबश नभई अन्जानमा मिल्न गएको ठम्याउँदै माफी दिँदै गर्दा आलोक श्री जस्ता व्यवसायिक संगीतकर्मी र व्यवसायिक प्रयोजनका लागी आफ्नो संगीत कपी गर्नेलाई भने आफुले नछोड्ने बताए । अब सापकोटाको यो जुर्मुराईले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal