शिल्पा र छवी विरुद्धको पक्राउ पुर्जी खारेज नहुने



निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल विरुद्धको पक्राउ पुर्जी खारेज नहुने भएको छ । पक्राउ पुर्जी जारी भएपश्चात पक्राउ पुर्जी खारेज गराउन नायिका शिल्पा पोखरेलले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकोमा अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने आदेश गरेको छ । न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

नायिका शिल्पा पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । छवीको तर्फबाट भने कसैले बहस गरेनन् । अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै अदालतले पक्राउ पुर्जी जारी नै रहने रहने आदेश गरेको हो ।

छवीकी पहिलो श्रीमती हेमा ओझाले छवी र शिल्पालाई विपक्षी बनाई बहुविवाहको उजुरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा जिल्ला अदालत काठमाडौँले छवी र शिल्पा विरुद्ध केही हप्ता अगाडी पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal