भ्रमण वर्ष २०२० मा लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म



२० साउन, काठमाडौँ

सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले लिगलिगे दौडदेखि संयुक्त राष्ट्र सङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५-७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिनुभयो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भन्नुभयो- “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही कन्ट्रिब्यूट गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जंगल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा साहसिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ ।”

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्याराग्लाइडिङ जस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal