बिराजको ‘साङ्लो’ प्रदर्शन मिती तय



नायक बिराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘साङ्लो’को प्रदर्शन मिती तय भएको छ । फिल्म तिहार र छठको छेको पारेर कार्तिक १५ देखी प्रदर्शनमा आउने भएको हो । साङ्लोमा बिराज संगै मिस नेपाल २०१७ निकिता चण्डक मुख्य भूमिकामा छिन् ।

एक्सन नायकको छवी बनाएका नायक भट्टले नेपाली फिल्म क्षेत्रबाट केही समय ब्रेक लिएर भोजपुरी फिल्ममा होमिएका थिए । भोजपुरी फिल्मबाट पुन नेपाली फिल्ममा पुनरागमन गरेका बिराजको केही समय अगाडी प्रदर्शनमा आएका फिल्मले आशातित ब्यापार गर्न सकेका थिएनन् । त्यसैले पनि फिल्म साङ्लो चल्नै पर्ने दवाव उनलाई छ । साङ्लो कस्तो कथा वस्तुमा निर्माण भएको छ भन्ने अहिले सम्म निर्माण यूनिटले खुलाएको छैन ।

फिल्मको रिलिज मिती तय भए संगै अब यो फिल्म डा. सीके राउतको बायोपिक फिल्म ‘डाक्टर सिके राउत द प्यासन’सँग जुध्ने पक्का भएको छ । साङलोमा बिराज र निकितासंगै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal