ढिला बुझेँ – नायिका स्वस्तिमा खड्का



नायिका स्वस्तिमा खड्काले मिडियासंग सन्तुलित र निश्चित दुरी सहितको सम्बन्ध राख्नु पर्ने कुरा बुझ्न ढिला गरेकोमा पछुतो लागेको बताएकी छन् । उनले सोसल मिडियामा सस्तो हुनु कलाकारको लागी तत्काल फाइदा जनक देखिए पनि कालान्तरमा त्यसको नकारात्मक असर बढी देखिने आशय ब्यक्त गरेकी हुन् ।

इन्ट्रो नेपालसंगको अन्तर्वार्ताका क्रममा उनले आफुले त्यही कुरा बुझ्न ढिला गरेको बताएकी हुन् । ‘मिडिया हाम्रो काम दर्शक सम्म पुर्याउने एक माध्यम पक्कै हो र पुर्याएको पनि छ । तर, त्यो माध्यमले हामीलाई सकारात्मक हिसावमा प्रस्तुत गरेको छ या नकारात्मक त्यो बुझ्न सक्नुपर्ने रहेछ । त्यो बुझ्न मैले ढिला गरेँ’, उनले भनिन् । ‘माध्यमको प्रयोग आवश्यक पक्कै छ । तर, अन्त्यमा आफ्नो कामले नै महत्व राख्दो रहेछ’, उनको भनाई थियो ।

‘जुन समयमा नेपालमा सोसल मिडियाको बिगबिगी सुरु भएको थियो सम्भवत मेरो डेब्यु त्यसै समयमा भएको थियो भन्दै उनले त्यो समय देखी नै सकारात्मक भन्दा पनि नकारात्मक हिसावमा आफुलाई प्रस्तुत गरिएको रहेछ भन्ने अहिले आएर बुझेको बताइन् ।

फिल्म हजार जुनी सम्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारको पारिश्रमिकको विषयमा उनले दिएको अभिव्यक्तीले नै उनी विवादमा परेकी हुन् । नायिका खड्काले आफुले उक्त अभिव्यक्ती कसै प्रती लक्षित गरेर नदिएको तर, अनलाईन मिडिया त्यसमा पनि यूट्युबमा राखिएका भिडियो टाइटलमा कुनै अर्को कलाकारको नाम जोडेर आफ्नो अभिव्यक्तीलाई जोडिएकोमा आपत्ती जनाउँदै आएकी छिन् । सो पश्चात ‘यूट्युबरलाई म पत्रकार नै मान्दिन’ भन्ने अभिव्यक्तीले पनि उनलाई विवादमा पारेको छ ।

हामीसंगको अन्तर्वार्ताको क्रममा नायिका खड्काले अब आफुले फिल्टर गरेर मात्र माध्यम (मिडिया)संगको सम्बन्ध अगाडी बढाउने बताइन् । कतिपय अवस्थामा आफुले पनि अनैतिक यूट्युबरलाई प्रश्रय दिएको स्विकार गर्दै उनले अबको दिनमा हरेक कलाकारले नैतिक र अनैतिक सोसल मिडिया छुट्याउन जरुरी रहेको बताइन् । आफुलाई सम्झाउने कोही नहुँदा त्यो छुट्याउन समय लागेको भन्दै उनले फिल्टर गर्नु अत्यावश्यक रहेको बताएकी हुन् ।

स्मरण रहोस् नायिका स्वस्तिमा खड्काको अभिनय रहेको फिल्म हजार जुनी सम्म यही साउन ३० गते देखी प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal