भिडियोमा ‘रातो र चन्द्र सूर्य’



कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ लाई सुप्रसिद्ध ब्याण्ड नेपथ्यले भिडियोमा उतारेको छ । अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका यो गीतले नेपाली झण्डाको महिमा बोल्छ ।

पहिले यो गीत संगीतकार अम्बर गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो । यो गीतलाई पछिल्लो समय नेपथ्यले नयाँ एरेन्जमेन्टका साथ गाउँदै आएको छ । नेपथ्यको एल्बम ‘मेरो देश’ मा समेत यो गीतलाई समेटिएको छ ।

संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमती लिएर नेपथ्य ब्याण्डले यो गीतको नयाँ एरेन्जमेन्टका साथ नेपथ्यका मुख्य गायक अमृत गुरुङको स्वरमा रेकर्ड गरेर भिडियो तयार गरेको हो । नेपथ्यले विभिन्न कन्सर्टमा यो गीत गाउँदै गर्दाको दृश्यहरु भिडियोमा समेटिएको छ ।

९ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा समेत ‘रातो र चन्द्र सूर्य’को धुन बजाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal