आफूभित्रका कमि कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने – प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूभित्रका कमि कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने बताएका छन् । उनले कमि कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको समेत बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा मङ्गलबार बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

स्मृति दिवसका अवसरमा उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी लागिपर्ने जनाए । उनले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको र साउनभित्रै सबै काम सक्ने जनाए ।

उनले पार्टीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसपछि देशव्यापी रुपमा खटिएर जनतालाई उत्साहित पार्ने समेत बताए । उनले आफू र पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा देखिने मात्रै होइन नदेखिने संवाद भएको उल्लेख गर्दै त्यसपछि नै शान्तिपूर्ण रुपमा प्रतिस्थापन गरिएको समेत जनाए । उनले अहिलेको अवस्था नाटकीय हिसाबले नआएको जनाउँदै कहिले कसैलाई प्रधानमन्त्रीको अफर कहिले कसैलाई प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको बताए ।

उनले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गर्दै यसको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने जनाए । केही प्रतिक्रियावादी शक्तिले चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ दिइएको र आगामी दिनमा पनि जवाफ दिइने बताएका छन् ।

सरकारका कामलाई सुशासनमा केन्द्रित गर्ने र त्यसका लागि विकासको मोडेल प्रस्तुत गरेर अघि बढ्ने जनाए । जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरिएको जनाउँदै उनले आफूहरु पुष्पलालकै उत्तराधिकारी र सन्तती भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal