गीता, सारिका र पुजनाको तीज गीत ‘तीजैमा व्रत बसी’ सार्वजनिक



सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीज गीत ‘तीजैमा व्रत बसी’ सार्वजनिक भएको छ । मिलापको प्रस्तुतिमा गायिका तथा नायिका सारिका घिमिरेको स्वर रहेको गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नायिका पुजना प्रधानको साथमा गायिका सारिका र रचनाकार गीता अधिकारीको अभिनय रहेको छ । भिडियोलाई रचनाकार अधिकारीकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीतकार तथा सञ्चारकर्मी शान्ति प्रिय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापा लगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीत मौलिक तीज गीत रहेको र गीतको भिडियो पनि उत्कृष्ट बनेको बताए । नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत दर्शक श्रोता माझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्नेमा आशावादी छु’, गीत्कार अधिकारीले भनिन् । त्यस्तै भिडियोमा अभिनय गरेकी नायिका पूजना प्रधानले आफुहरुले एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस गरेको र यसमा खुलेर नृत्य गरेको बताइन् । ‘गतवर्ष भन्दा अलिक फरक खालको गीत लिएर आएका छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal