इन्दिरा भट्टराईको तीज गीत ‘नाचौँ मितिनी’ सार्वजनिक



गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।

राजधानीमा एक कार्यक्रम आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायिका भट्टराईले भनिन्, ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जाँदा दिनेश अधिकारीसँग भेट भयो । उहाँ सँग गीत मागे । मलाई विश्वास गरेर गीत दिनुभयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् ।

आफैले लेखेको गीतको भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी भएर सम्बोधन गर्नु पर्दा बरिष्ठ गीतकार दिनेश अधिकारी आफूलाई सबैभन्दा अप्ठ्यारो भएको बताए । पछिल्लो समय फरक बाटोमा हिड्दै गरेको गीत संगीतको बजारलाई लिएर गम्भिर देखिन्थे अधिकारी ।

सार्वजनिक ‘नाचौँ मितिनी’ बोलको उक्त गीतको भिडियो निर्देशन पुरानी कलाकार संम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal