‘लोक लय’ भन्दैमा क्षमा पाइन्छ र ?



केही समय यता नेपाली गीत संगीतको क्षेत्रमा सकृय नयाँ संगीतकारहरुलाई एक बात लाग्ने गरेको छ, ‘उनीहरुसंग शिर्जनशिलता छैन’ । सबै संगीतकारलाई लागेको बात भने होइन यो । केही संगीतकारलाई छोडेर अधिकांश नयाँ संगीतकार यो बातबाट अछुतो छैनन् । त्यसैको भिडमा सामेल भएका छन् संगीतकार तथा गायक आशिष अविरल । संगीतको क्षेत्रमा लामो अनुभव संगालेका उनको संगीत तथा स्वर रहेको गीत ‘जाल्मै पार्छु’ शुक्रवार सार्वजनिक भएको छ । गायिका स्मिता दाहालको साथमा उक्त गीतमा आशिषले समेत स्वर भरेका छन् ।

‘जाल्मै पार्छु’ गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा आशिषले एक प्रश्नको सामना गर्नु पर्यो जसको जवाफ उनीसंग थियो र थिएन पनि । गीत तथा भिडियो सार्वजनिक भए पश्चात एक संचारकर्मीले सो गीत चलचित्र ए मेरो हजुर ३ को गीत ‘परान’ संग मिल्दो जुल्दो रहेको भन्दै आशिषलाई प्रश्न गरे, ‘हिजोका दिनमा पुराना संगीतकारहरुले लोक लय भएको वा फ्लेवर मिलेको भन्दै कुनै पनि गीतलाई लिएर प्रश्नको सामना गर्नु परेन । तर, पछिल्लो समयका चर्चित संगीतकारहरुले लोक लय भन्दै वा फ्लेवर मिलेको भन्दै पन्छिने प्रयास गर्न थालेका छन् । कुनै पनि गीतको लय मिल्दै गर्दा फ्लेवर मिलेको होला भन्दै क्षमा कहिले सम्म ? के अहिलेका संगीतकारहरु संग शिर्जनशिलता सकिएको हो ? आशिषले लामै प्रश्नको सामना गर्नु पर्यो । तर, उनको जवाफ प्रश्न भन्दा पनि छोटो थियो, ‘यो गीत र त्यो गीत दुवै लोक फ्लेवरका हुन् । लोक गीत भएका कारण कलर मिल्न सक्छ । यद्यपी फरक छ । म दावीका साथ भन्न सक्छु ।’

हुन त आशिषसंग टेक्निकल जवाफ पनि होला, गीत एकै छैन भन्ने । गीतको नोटेसन पनि देखाउलान् फरक छ भनेर । तर, नोटेसन फरक हुँदैमा गीत एकै हुँदैनन् भन्ने पक्कै होइनन् । नोट फरक गरेर पनि संगीत एकै हुन सक्छ ।

आशिषले यो जवाफ दिँदै गर्दा उनी संग प्रश्नको सही जवाफ नभएको प्रष्ट देखिन्थ्यो । उनी गीतको फ्लेवर अथवा भाका मिलेकोको कुरामा जानकार थिए, किनकी दुवै गीतका संगीतकार उनी आफैँ हुन् । उनलाई कपिराइटको मुद्धा लाग्ने छैन र कसैले मेरो गीतको भाको कपी गरिस् भन्न पनि आउने छैन । तर, उनलाई शिर्जनशिलता नभएको संगीतकारको बात लागेको छ । उनका संगीत रहेका दुवै गीत एकै लाग्छन् भने उनलाई यो बात लाग्नु पनि अस्वभाविक पक्कै होइन ।

आशिषसंगै कार्यक्रममा उपस्थित भएका गायक तथा संगीतकार प्रकाश सपुतले पनि केही समय अगाडी गीत कपीको आरोप खेपेका थिए । अग्रज गायक तथा संगीतकार शम्भु राईको गीतको भाका कपी गरेको आरोप पछी उनले सो गीतमा शम्भु राईको नाम राख्न बाध्य भएका थिए । केही दिन यता चर्चित संगीतकार कालीप्रसाद बास्कोटालाई पनि गीत कपीको आरोप लागी रहेको छ । गायक तथा संगीतकार राजन राज सिवाकोटीलाई पनि हरेक गीतमा एकै फ्लेवर रहेको आरोप लाग्दै आएको छ । गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीले पनि सोही आरोप खेपेका थिए ।

सरसर्ती हेर्दा पछिल्लो केही बर्ष यता संगीतमा सकृय भएकाहरुलाई नै यो आरोप लाग्दै आएको छ । के साँच्चै नयाँ संगीतकारहरुमा शिर्जनशिलता सकिएकै हो त ? आखिर उनीहरुले लोक लय वा फ्लेवर मिलेको भन्दै क्षमा कहिले सम्म माग्ने ?

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal