दर्शकको मन जित्दै ‘घर’, सिक्वेल बन्ने



शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘घर’ले मध्यम सुरुवात गरेको छ । नेपालमा हरर फिल्मको ट्रेण्ड नभएको अवस्थामा चुनौती मोलेर निर्माण गरिएको फिल्मले सकारात्मक प्रतिकृया पाएको छ । निर्माण यूनिटले फिल्मले दर्शकको मन जित्न सफल भएको बताएका छन् । शुक्रवार मध्यम रहेको फिल्मले शनिवार भने ८० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको फिल्मका सह-निर्माता सन्तोष अधिकारीले बताए ।

अभिनेता तथा निर्देशक अर्पण थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण संगै सुरक्षा पन्त त बेनिषा हमालको मुख्य भुमिका रहेको छ । ‘हरर जनाराको फिल्म नेपालमा खासै निर्माण भएको छैन र हेर्ने ट्रेण्डको विकास भएको अवस्था पनि छैन । यस्तैमा रिस्क मोलेरै भए पनि हरेक वर्ष एउटा हरर जनाराको फिल्म निर्माण गर्ने उदेश्य राखेको छु । त्यसैको निरन्तरता हो घर,’ निर्देशक अर्पण थापाले भने । घरको सिक्वेल समेत बन्ने निर्माण यूनिटले बताए ।

यस अघि अर्पणको हरर जनाराकै फिल्म सुनकेशरी प्रदर्शनमा आएको थियो । सुनकेशरीको तुलनामा घर अब्बल रहेको थापाले बताए । शर्मिला पाण्डेको निर्माण तथा सन्तोष अधिकारीको सह-निर्माण रहेको फिल्म एएसएपी इन्टरटेनमेन्टको सहकार्यमा डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो । फिल्ममा निरज कँडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई डीएस डिजिटल र एफडी कम्पनीले वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal