‘डा.सिके राउत द प्यासन’ चलचित्र निर्माण हुने



मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो । कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक गरिएको थियो ।

डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारलाई चिनाइयो । डा. राउतले आफूलाई डेढ महिना अघि चलचित्र निर्माण टिमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

विजेता गिरीको प्रस्तुती रहने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला, पुकार भट्टराई, बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाई पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । चलचित्र नेपाली भोजपुरी र हिन्दि भाषामा बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal